बुटवल-नेकपा एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि सुरु भएको उद्योगीहरूको आन्दोलनमा सहभागी भएका गौतम बिहीबार दिउँसो कार्यक्रममा भाषण गर्दै गर्दा अचानक ढलेका थिए।
भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका हुन् ।
उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो । मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए । अस्पताल पुर्याएपछि चेकजाँच गर्दा चिकित्सकले हृदयघातका कारण मृत्यु भइसकेको जानकारी गराएको बस्यालले बताए ।
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय गौतमका दुई छोरा र श्रीमती रहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा गएका थिए ।
एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले गौतमको मृत्यु भएको पुष्टि गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाएका थिए। उनले श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आह्वान गर्दै भाषण गरिरहेका बेला बेहोस भई ढलेका थिए।