काठमाडौं-नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् ।
रसले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई राजीनामा बुझाएको एन्फा स्रोतले पुष्टि गरेको छ । एन्फाले अधिकारिक रुपमा भने यसबारे केहि सार्वजनिक गरेको छैन ।
एन्फा र रसबीच एक वर्षको सम्झौता भएको थियो । फागुन १८ गते एन्फाले पत्रकार सम्मेलन आयोजना गरेर प्रशिक्षक रससँग सम्झौता गरेको घोषणा गरेको थियो । एक वर्षको सम्झौता भएपनि प्रशिक्षक रसले ८ महिनामा नै राजीनामा दिएका छन् ।
रसको कार्यकालमा नेपाली टोलीले ७ खेल खेलेको थियो । जसमा नेपालले मात्र १ खेल जित्दा २ मा बराबरी र ४ खेलमा हार बेहोरेको थियो । भियतनामविरुद्ध पछिल्लो खेलमा रस दुई पहेंलो कार्डको निलम्बनका कारण टचलाइनमा पनि थिएनन् ।
टोली सम्हालेपछिको पहिलो खेलमा नै नेपालले सिंगापुरलाई १-० ले हराएको थियो । यो नै उनको लागि उत्कृष्ट नतिजा रह्यो । नेपालले हङकङ र बंगलादेशसँग गोलरहित बराबरी खेल्यो । नेपालले मलेसिया र लाओससँग १-१ र भियतनामसँग २ खेलमा हार बेहोर्यो ।
रसले केहि समय अगाडि जुन देशमा घरेलु लिग हुँदैन त्यो देशको फुटबलले नतिजा ल्याउन सक्दैन भनेर समेत भनेका थिए ।
यसअघि महिला टोलीका प्रशिक्षक प्याट्रिकले पनि एक टुरपछि नै राजीनामा दिएका थिए ।