 
                काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लागेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । भ्रमणका लागि राष्ट्रपति पौडेल यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्ने उनले बताए ।
राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्नेछन् । संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।
भ्रमणबारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको सो दोस्रो सम्मेलनको महत्त्व र गरिमा अनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको उल्लेख गरे ।
सम्मेलनका दौरान राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।
यसअघि, उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक सम्मेलन कतारले आयोजना गरेको हो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसंख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ ।
सचिव राईले भने, ‘सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्नेछ ।’ संयुक्त राष्ट्रसंघको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहिआएको छ ।
राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेकाले पनि सम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।