काठमाडौं-आईसीसी विश्वकप लिग-२ अन्र्गतको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको छ । युएईको घरेलु मैदानमा भएको अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको बुधबार भएको अन्तिम खेलमा यूएईसँग ४ विकेटले पराजित भएको हो ।
यो हारसँगै नेपालले यो शृङ्खला जितविहीन हुँदै सकेको छ। टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनायो ।
नेपालले दिएको २४० रनको विजयी लक्ष्य पछ्याएको यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाउँदै २४३ रनसहित लक्ष्य पूरा गर्यो । यूएईका लागि चौथो विकेटका लागि मोहम्मद वसिम र मुहम्मद सहदादले १४७ रनको सतकीय साझेदारी गरे ।
यूएईका लागि मुहम्मद सहदादले सर्वाधिक ९६ रन बनाए । ओपनर तथा कप्तान अलिशान सराफू १८ रन, मोहम्मद वसिमले ७६ रन बनाए । यस्तै जहिद अलि ५ र ध्रुव परासर २ रनमा अविजित रहे ।
नेपालका लागि करण केसीले ३ विकेट लिँदा, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको नेपालको लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । ओपनर कुशल भुर्तेलले २, आसिफ शेखले ३४, कप्तान रोहित पौडेलले २, दीपेन्द्र सिंह ऐरीले ३७, आरिफ शेखले ३० र कुशल मल्लले ४५ रन बनाए ।
यस्तै ललित राजवंशीले अन्तिम बलमा चौका हान्दै अविजित रहे भने सन्दीप लामिछाने पनि १५ रनमा अविजित रहे ।
यूएईका लागि बलिङतर्फ जुनैद सिद्धकी, ध्रुव परासर र मुहम्मद जवादुल्लाहले समान २–२ विकेट लिए। जाहिद अलिले १ विकेट लिए। नेपालले यस अघिको लगातार ३ खेल हारेको थियो ।