सिन्धुली-सिन्धुलीको दुधौली नगरपालिका-४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१-००१ प २१४२ नम्बरको मोटरसाइकल तथा मप्र.०२-००६ प ५८४१ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जना गम्भीर घाइते भएका थिए । जसमध्ये दुधौली नगरपालिका-११ टाडी निवासी ३४ वर्षीय रामकुमार कुमर र दुधौली नगरपालिका-३ निवासी २५ वर्षीय फुलबाबु धामीको उपचारका क्रममा दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा घाइते दुधौली-३ का २६ वर्षीय विप्लव धामी, सोही ठाउँका २७ वर्षीय बुद्धि थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामीको सोहि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एवं प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
दुर्घटनाग्रस्त मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा क्षति भएको छ । ट्रक चालक धनकुटा छथर जोरपाटी गाउँपालिका-६ निवासी २५ वर्षीय शेरबहादुर विष्टलाई नियन्त्रणमा लिएको सुवेदीले बताए ।