काठमाडौं– जनकपुरधाममा निर्माणाधीन रामजानकी रंगशालाको अवस्थाबारे दुई मन्त्रीले संयुक्त निरीक्षण गरेका छन्। शुक्रबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता जनकपुरधाम पुगेका थिए । मन्त्रीद्वयले रोकिएको रंगशाला निर्माणको कारण, खेलमैदानको वर्तमान अवस्था तथा अन्य प्राविधिक पक्षबारे विस्तृत जानकारी लिएका हुन् ।
निरीक्षण क्रममा मन्त्रीहरूलाई मधेस प्रदेश खेलकुद मन्त्रालयका सचिव रञ्जित यादव, जिल्ला क्रिकेट संघका पदाधिकारी तथा स्थानीय खेलाडीहरूले रंगशालाको वास्तविक अवस्थाबारे जानकारी गराएका थिए । यससँगै मन्त्री घिसिङ र गुप्ता भासिएको कमला पुलको निरीक्षणका लागि समेत पुगेका छन् ।
पुल भासिएको विषयमा चाँडै निर्णय हुने मन्त्री घिसिङले बताए । परिस्थितिको विस्तृत मूल्यांकनपछि आवश्यक निर्णय लिने उल्लेख गर्दै उनले पुल निर्माण अनिवार्य रूपमा अगाडि बढाइने स्पष्ट गरे । मन्त्री घिसिङले भने- ‘त्यहाँको वास्तविकता बुझेर थप काम अघि बढाउँछौँ। के गर्ने भन्ने विषयमा छिट्टै निर्णय गर्छौँ। सबै पक्ष हेरेर अघि बढ्छौँ। कुनै हालतमा पनि त्यो पुल बन्नैपर्छ । रंगशाला र पुल दुवै विषयमा छिटो समाधानका लागि मन्त्रालयहरू सक्रिय हुने जनाइएको छ ।