काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए ।
रोहितले निरोधन डिक्वेलासँग तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । डिक्वेला ३७ रनमा आउट भएका थिए । डार्सी सर्ट ७, सुमित महर्जन ०, दिलिप नाथ १०, गुल्बदिन नाइब १७ र रुवेन ट्रम्पल्यान १७ रनमा आउट भए । सन्दीप जोरा २५ रनमा अविजित रहे ।
बलिङमा पोखराका विपिन खत्री, म्याट टेयलर र सागर ढकालले दुईदुई विकेट तथा जिम्मी निशमले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । पोखराका लागि ओपनर एडम वासिङटन र जिम्मी निशमले उत्कृष्ट ब्याटिङ गरे ।
एडमले ६३ बलमा ८१ रन बनाए । ३३ रनमा ४ विकेट गुमाएको पोखराको ब्याटिङलाई एडम र जिम्मी निशमले उकासेका थिए । जिम्मीले अर्धशतक प्रहार गरे । उनी ३२ बलमा ५१ रनमा अविजित रहे । दिनेश खरेल ७, कप्तान कुशल भुर्तेल ०, सुमित वर्मा ०, तिर्थ दास १ रनमा आउट भए ।
किरणकुमार ठगुन्ना एक रनमा अविजित रहे । बलिङ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुईदुई विकेट लिए । गुल्ददिन नाइवले एक विकेट लिए । लुम्बिनीले लगातार तेस्रो हारपछि जित निकालेको छ । पोखराले भने एनपीएलमा तेस्रो हार बेहोरेको छ ।
यस्तै आजै अर्को खेल जनकपुर बोल्ट र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् ।
प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।