काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रनको योगफल तयार पारेको हो । भीम सार्की र वेन चाल्सवर्थको अर्धशतकमा काठमाडौं गोखार्जले पोखरा एभेन्जर्ससामु जितका लागि १६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो। काठमाडौंका लागि ओपनर वेनले सर्वाधिक ६४ रन बनाए । ५४ बलमा ५ चौका र २ छक्का सहयोगमा ६४ रन बनाएका वेन विपिन खत्रीको बलमा धनन्जय लक्षणको हातबाट क्याच आउट भए ।
वेनले ४८ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरे । भीम सार्की ५५ रन बनाउँदा क्याच आउट भए । २३ बलमा ५ चौका ४ छक्का प्रहार गरेका धनन्जयको बलमा क्याच आउट भए । भिमले १९ बलमा ५ चौका ४ छक्का सहयोगमा अर्धशतक पूरा गरे । करण केसीले ४ रन बनाए । सन्नी पटेल २ रनमा अविजित रहे । मिलिन्द कुमारले १३ रन बनाउँदा कुशल भुर्तेलको बलमा विकेट किपरको हातबाट आउट भए । आदिल आलम र रासिद खानले समान ७ रन बनाउँदै पेभेलियन फर्के । जोन सिम्प्सन २ रन बनाउँदा कुशल भुर्तेलको बलमा कट एण्ड बोल्ड हुन पुगे । आकाश त्रिपाठी शुन्य रनमा नै धनन्जय लक्षणको बलमा बोल्ड आउट भए ।
पोखराका लागि धनन्जय लक्षणले सर्वाधिक ४ विकेट लिए । उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १६ रन खर्चे । कुशल भुर्तेलले २ विकेट लिए । किरण ठगुन्नाले एक विकेट लिए । पोखराले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । काठमाडौंले आजको खेलमा जित निकाले प्लेअफमा स्थान पक्का गर्नेछ । पोखराको जितले काठमाडौले अन्य खेलको नतिजा कुर्नुपर्नेछ । पोखरा आजको खेलमा पराजित भए प्लेअफ यात्रा थप कठिन बन्नेछ । जित निकाले प्लेअफ सम्भावना थप बलियो बनाउनेछ ।
पाँच खेलबाट चार अंक मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौंले भने ६ खेलबाट आठ अंक जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौं प्लेअफमा सुरक्षित हुन चाहन्छ । आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् ।