AarthikBikash
बिहिबार, पुस १७, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पश्चिमी वायुको आंशिक प्रभावले चिसो अझै बढ्छ : मौसम विभाग

पश्चिमी वायुको आंशिक प्रभावले चिसो अझै बढ्छ : मौसम विभाग

  • बिहिबार, पुस १७, २०८२
पश्चिमी वायुको आंशिक प्रभावले चिसो अझै बढ्छ : मौसम विभाग

काठमाडौं-नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले चिसो अझै बढ्ने संकेत गरेको छ ।

विभागका अनुसार पश्चिमी वायुको प्रभावले बादल लागेको छ । बादलको प्रभाव पश्चिम नेपालमा बढी र पूर्वी नेपालमा कम देखिएको छ ।

यसले गर्दा केही चिसो बढ्ने र उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ । तराई मधेश र पहाडी खोँचहरुमा देखिएको हुस्सु कुहिरो पनि हल्का कम हुने सम्भावना छ । तर प्रणाली ठूलो नभएकाले धेरै सुधार भने नदेखिने पूर्वानुमान छ ।

विभागका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदलीको अवस्था छ । अन्य प्रदेशहरूमा भने मौसम सामान्यतया सफा नै छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै कोशी प्रदेशका समेत उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद लामिछानेले जानकारी दिए ।

तराई र मधेशका क्षेत्रहरूमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने छ । पश्चिमी वायुका कारण बादल लाग्दा पश्चिम तराईका क्षेत्रमा लागेको हुस्सु केही हट्न सक्ने अनुमान गरिएको छ । यद्यपि, यो प्रणाली कमजोर रहेकाले कुहिरो पूर्ण रूपमा हट्ने निश्चित भने नरहेको मौसमविद लामिछानेले बताए ।

काठमाडौं उपत्यकामा पनि आज बादल लाग्ने सम्भावना छ । हिजो–अस्तीको तुलनामा आज बादल केही बढे पनि वर्षाको सम्भावना भने नरहेको मौसमविदको भनाइ छ ।

आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । पश्चिमी वायुको प्रभावले बादल लाग्ने र चिसो अझै बढ्ने मौसमविद्को भनाइ छ ।

यो प्रणाली धेरै बलियो नभएकाले देशव्यापी रूपमा ठूलो असर भने नपर्ने विभागको भनाई छ । तर हिमाली भेगमा यात्रा गर्नेहरु र तराईमा शीतलहरको सामना गरिरहेका नागरिकहरूलाई भने सतर्कता अपनाउन सुझाव दिइएको छ ।

सम्बन्धित समाचार