AarthikBikash
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेसका २५ केन्द्रीय सदस्यहरूको सामुहिक अपिल: विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद गर

कांग्रेसका २५ केन्द्रीय सदस्यहरूको सामुहिक अपिल: विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद गर

  • शुक्रबार, पुस २५, २०८२
कांग्रेसका २५ केन्द्रीय सदस्यहरूको सामुहिक अपिल: विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद गर

काठमाडौं-नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै नेतृत्व तहलाई संवादका लागि अपिल गरेका छन् ।

आज बिहान कुपण्डोलमा भएको छलफलपछि विज्ञप्ति जारी गर्दै २५ केन्द्रीय सदस्यहरूको समुहले सामुहिक अपिल गरेको हो ।

उनीहरूले प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने अवस्था रहेको विज्ञप्तिमार्फत स्मरण गराएका छन् ।

‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ । अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको यो समूहले पुस २२ गते पनि नेता डा। शेखर कोइरालासँग छलफल गरेको थियो । यसअघि पुस १८ गते सभापति शेरबहादुर देउवालाई भेटेको थियो । सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको यो समूह १५ औं निर्वाचनअगावै हुनुपर्ने पक्षमा उभिएको थियो।

आगामी पुस २७ र २८ गते काठमाडौंमा गर्ने गरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन् ।

पुस २७ र २८ गते भृकुटी मण्डप हुने विशेष महाधिवेशनको तयारी धमाधम भइरहेको छ । जसका लागि लागि ठमेल, नक्साल, सुन्धारा र एयरपोर्टका होटेलहरूमा १५ सयवटा कोठा बूक गरिएका छन् ।

साथै व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका विभिन्न १८ वटा उपसमिति समेत गठन गरिएका छन्।

सम्बन्धित समाचार