काठमाडौं-नेपाली कांग्रेसको आज हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनको सभापतित्व काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने भएका छन् ।
शनिबार महाधिवेशन पक्षधरले पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा उपस्थित हुन आग्रह गर्दै निम्ता पठाएको थियो । तर देउवा सचिवालयले निमन्त्रणा अस्वीकार गरेको थियो । त्यसपछि महाधिवेशनको सभापतित्व काठमाडौंका सभापति सबुज बानियाँले गर्न लागेका हुन् ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान भएको विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन ।
आज र भोलि हुने विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ ।
उद्घाटनअघि बिहान ११ः०० बजे काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्यालीका साथ भृकुटीमण्डप प्रस्थान गरिने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए।
मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका आयोजक समितिले जनाएको छ ।