काठमाडौं-भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।
आजै राति ८ बजेदेखि मतदान सुरु गर्नेगरी निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार ५ बजे विरोधको छानबिन पश्चात् पुनः नामावली प्रकाशन गरिनेछ भने ५:३५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता फिर्ताको रहेको समय छ । यस्तै ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
मंगलबार बन्द सत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो ।
विशेष महाधिवेशन र संस्थापन पक्षबीच भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया पुन अघि बढाइएको हो ।
उता संस्थापन पक्षले आह्वान गरेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले १५औं नियमित महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको छ ।