काठमाडौं-भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया चलिरहेका बेला केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ।
बिहान ८ बजेका लागि बोलाइएको बैठक विशेष महाधिवेशन पक्षधरसँग समझदारीका लागि वार्ता अघि बढेपछि ढिलाइ भएको हो।
बैठकमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको ब्रिफिङ गरेका छन् ।
बैठकलाई सम्बोधन गर्दै खड्काले यसअघि पुसमा पार्टीको नियमित महाधिवेशन ल्याउने विषयमा महामन्त्रीहरूसँग सल्लाह गरेर ल्याएको र उक्त समयमा कामकारबाही नभ्याएको बताएका हुन् ।
उनले भने–‘पुसमा नियमित महाधिवेशन गर्नेबारे मैले महामन्त्रीहरूसँग सल्लाह गरेकै हो । सल्लाहअनुसार नै तालिका ल्याउँदा, कामकारबाही गर्दागर्दै भ्याइएन । महामन्त्रीहरूले केही सल्लाह नै नगरेको जसरी धोका दिनुभयो । उहाँहरू कामकारबाही हुन नसक्नुमा आफ्नो केही दोष हैन जसरी विशेष महाधिवेशनमा लाग्नु भयो । पार्टीलाई विभाजनमा धकेल्ने गरी जानुभयो ।’
खड्काले बैठकमा महामन्त्रीहरू मिल्नै नसक्ने खालका माग गरेपछि पार्टी विभाजनको अवस्थामा पुगिसकेको बतएको पनि बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । विशेष महाधिवेशन पक्षधर गगन थापा र विश्वप्रकाश शर्माले गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा, सभापति देउवालाई राजनीतिकबाट सन्यास र निर्वाचन हाइकमान्ड बनाउने प्रस्ताव गरेका थिए ।
आज विहान देउवासँग भएको छलफल निष्कर्षविहिन भएपछि महामन्त्रीद्वयले वार्ताका लागि सभापति शेरबहादुर देउवासमक्ष ८ बुँदे प्रस्ताव पठाएको छ । विशेष पक्षले पठाएको ८ वटा बुँदामा विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने लगायत कुरा समावेश छन् ।