काठमाडौं-विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस प्रवक्ताको जिम्मेवारी देवराज चालिसेलाई दिइएको छ ।
आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई प्रवक्ता तोकेको हो ।
कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय र सहायक महामन्त्री फरमुल्लाह मन्सुरलाई निष्कासन गरेपछि भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट अलग्गै नेतृत्व गठन भएको थियो । चालिसे पनि गगन नेतृत्वको कांग्रेस केन्द्रीय सदस्य हुन् ।
अब पार्टीका निर्णय, धारणा र गतिविधिबारे आधिकारिक रूपमा जानकारी गराउने जिम्मेवारी चालिसेले सम्हाल्ने छन् । केन्द्रीय समिति बैठक जारी रहेको छ।
पहिलो बैठकबाट आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल हुने बताइएको छ । पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अध्यावधिक गर्ने लगायतका कार्यका लागि निर्वाचन आयोग जाने लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।