काठमाडौं– नेकपा एमालेनिकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले संगठन छाडेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत संगठन छाडेको घोषणा गर्दै झापा-५ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन )लाई समर्थन गर्ने बताएका हुन्। उनले लेखेका छन्- ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा-५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ-समर्थन जनाएको छु ।’
यस्तै मंगलबार नेपाली काँग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले पनि बालेन साहलाई सघाउने भन्दै पार्टीको जिम्मेवारीबाट साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट मनोनयन दर्ता गराएका छन् । सो क्षेत्रबाट ओलीले निरन्तर जित्दै आइरहेका छन् । यो पटक ओली र बालेनबीच जबरजस्त प्रतिष्पर्धा हुने देखिन्छ ।