काठमाडौं-अमेरिकाले अवैध रुपमा बस्दै आएका तथा कानूनको परिपालन नगरेका भन्दै एकै दिन थप ८० जना नेपालीलाई डिपोर्ट गरेको छ । अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई काठमाडौं ल्याएर छाडिदिएको हो ।
अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानूनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानून उल्लंघन गरेको जनाइएको छ ।
डिपोर्ट भएकाहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो । ब्युरोका अधिकारीहरुले उनीहरुसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
यसअघि पनि अमेरिकाले पटक–पटक नेपालीहरूलाई डिपोर्ट गर्दै आइरहेको छ ।
पुस ३ गते विहिबार अमेरिकाले ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको थियो । त्यतिबेला डिपोर्ट हुनेमा ३ महिला छन् भने ७२ जना पुरुष थिए । उनीहरू अधिकांश अवैध बाटो हुँदै अमेरिका गएकाहरू रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको थियो ।
त्यसअघि अमेरिकाले मंसिर २ गते ३५ जना, भदौ १९ गते १९ जना र जेठ २५ गते ३७ जना नेपालीलाई डिपोर्ट गरेको थियो ।
अमेरिकाको राष्ट्रपति पदमा ड्रोनाल्ड ट्रम्प निर्वाचित भएयता मात्रै चार सय बढी नेपाली डिपोर्ट भइसकेका छन् । ट्रम्पले २०२५ जनवरी २० गतेदेखि अमेरिका सत्ता सम्हालेका हुन् ।