काठमाडौं-चालू आर्थिक वर्ष २०८२/८३ को छ महिनामा १० खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार चालू आवको साउनदेखि पुससम्म १० खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
यो व्यापार गत आवको सोही अवधिको १७.३६ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
यस अवधिको वैदेशिक व्यापारमा नेपालले ७ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा ७ खर्ब २३ अर्ब ५८ करोड बराबरको घाटा भएको थियो ।
भन्सार विभागका अनुसार चालू आवको छ महिनामा ९ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४.१८ प्रतिशत बढी हो । सो अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै, यस अवधिमा एक खर्ब ४२ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४३.७६ प्रतिशत बढी हो । त्यसबेला ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
तथ्यांक अनुसार यो अवधिमा भएको कुल निर्यात भन्दा बढी इन्धन आयात भएको छ । पुससम्म पेट्रोलियम पदार्थ आयातमा १ खर्ब ५१ अर्ब बराबर विदेशिएको छ । तर, कुल वस्तु निर्यात भने १ खर्ब ४२ अर्ब बराबर मात्र छ ।
धेरै आयात भएका वस्तुको दोस्रो स्थानमा वनस्पति तथा पशुजन्य तेल तथा घिउ छ । यस्ता वस्तु ७६ अर्ब ३३ करोड बराबर भएको देखिन्छ । फलाम र स्टिल आयात ६६ अर्ब १३ करोड हाराहारी छ ।
इन्धन, फलाम, स्टिलजस्ता वस्तु नेपालको पूँजी निर्माणमा समेत प्रयोग हुन्छ । यसले अर्थतन्त्र चलायमान हुँदै गरेको संकेत गर्छ । विद्युतीय उपकरण र त्यसका पार्टपुर्जा आयातमा ६४ अर्ब ९२ करोड विदेशिएको देखिन्छ ।
त्यस्तै मेसिनरी र मेकानिकल उपकरण आयातमा ६३ अर्ब ८९ करोड विदेशिएको छ । सवारीसाधन आयातमा ५५ अर्ब ३१ करोड खर्च भएको छ । मल आयात ३८ अर्ब ३६ करोड बराबर भएको छ । अन्नबाली २८ अर्ब ७६ करोड, सुन, चाँदीसहित बहुमूल्य धातु आयात ३५ अर्ब ६१ करोड रुपैयाँ बराबर भएको छ ।
त्यसैगरी प्लास्टिक र यसका वस्तु आयातमा ३३ अर्ब ५३ करोड विदेशिएको देखिन्छ । निर्यात भएका वस्तुको क्षेत्र विश्लेषण गर्दा सबैभन्दा अग्रस्थानमा वनस्पति तेल तथा बोसो छ ।
त्यसबाहेक कफी, चिया र मसला दोस्रो स्थानमा छ । कृत्रिम रेशा, धागो आयात तेस्रो स्थानमा छ । कार्पेट चौथो र तयारी पोसाक पाँचौं स्थानमा रहेको तथ्यांकले देखाउँछ ।
६ महिनामा वस्तु अनुसार हेर्दा डिजेल सबैभन्दा बढी मूल्यको आयात भएको छ । यो अवधिमा नेपालले ५८ अर्ब २७ करोड रुपैयाँ बराबर डिजेल आयात गरेको छ । दोस्रो स्थानमा कच्चा सोयाबिन तेल छ । यसको आयात ५७ अर्ब ४३ करोडको भएको छ ।
तेस्रो स्थानमा पेट्रोल छ । जुन ३३ अर्ब बराबरको आयात भएको छ । खाना पकाउने एलपी ग्यास २७ अर्ब बराबरको भित्रिएको छ । यो अवधिमा स्मार्टफोन २३ अर्ब २९ करोडको आएको छ । सुन १८ अर्ब ८३ करोडको भित्रिएको छ ।
६ महिनाको तथ्यांक अनुसार यो अवधिमा निर्यात भएका प्रमुख वस्तुमा प्राथमिक र कम मूल्य अभिवृद्धि भएका वस्तुको बाहुल्य छ । पहिलो स्थानमा कच्चा सोयाबिन छ । जुन ५६ अर्ब रुपैयाँ बराबर आएको छ ।
अलैँची ७ अर्ब १९ करोडको आएको छ । कार्पेट ४ अर्ब ८७ करोड, कच्चा सूर्यमूखी तेल ४ अर्ब ७८ करोड बराबरको भित्रिएको तथ्यांकले देखाएको छ ।
नेपालको वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा भारतसँग छ । सोहीकारण व्यापार घाटासमेत सोही मुलुकसँग अधिक छ । तथ्यांक अनुसार भारतबाट ५ खर्ब ३२ अर्बको वस्तु नेपाल आएको छ ।
नेपालबाट १ खर्ब १५ अर्बको वस्तु भारत गएको तथ्यांक छ । दोस्रो स्थानमा चीन छ । चीनबाट १ खर्ब ९६ अर्बको सामान आएको छ । चीनबाट नेपालमा भने ६४ करोडको मात्र वस्तु भित्रिएको छ ।
तेस्रो स्थानमा अर्जेन्टिना छ । जहाँबाट ५४ अर्ब ४४ करोडको वस्तु नेपाल भित्रिएको छ । चौथो स्थानमा युनाइटेड अरब इमिरेट्स (यूएई) रहेको तथ्यांक छ ।