काठमाडौं-जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको दोस्रो पटक म्याद थप्ने तयारी भएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोग गठन गर्दा ३ महिनाको समय दिएर घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार पार्न भनिएको थियो । गत असोज ८ गतेदेखि काम थालेको आयोगले तोकिएको तीन महिना सकिएपछि पुसमा एक महिना थपिएको थियो ।
पछिल्लो पटक थपिएको म्याद पनि यही माघ ८ गते बिहीबार सकिँदै छ । बढाइएको अवधिमा पनि काम नसकिएको भन्दै आयोगले अरू १५,२० दिन म्याद बढाउन आग्रह गरेको हो । आयोग स्रोतकाअनुसार, प्रतिवेदन लेखनको काम अझै बाँकी रहेकाले दुई साताका निम्ति पुनः म्याद बढाउन सोमबार मन्त्रिपरिषद्समक्ष प्रस्ताव गरिएको छ ।
कार्की नेतृत्वको आयोगलाई भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने कार्यादेश तोकिएको छ । जसका लागि आयोगले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न १०० भन्दा बढी व्यक्तिसँग बयान लिएको छ ।
आयोगले जेनजी आन्दोलनमा भएको हत्या, तोडफोड, आगजनीलगायत विषयमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा प्रमुखहरू, मुख्यसचिव, सचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख, सुरक्षामा खटिएका कमान्डर र अभियन्तासँग समेत बयान लिएको थियो ।
आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो भने दुई हजार ४२९ जना घाइते भएका थिए ।
तोडफोड, आगजनीसहितका विध्वंसात्मक कार्यबाट सार्वजनिक तथा निजी क्षेत्रमा गरी ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारी अनुमान छ ।