काठमाडौं – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने ऐतिहासिक निर्णय गरेको छ ।
शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य समिति बैठकले थापालाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो ।
बैठकपछि उपसभापति विश्वप्रकाश शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले सर्वसम्मत रूपमा थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।
‘देशमा स्थिरता, सुशासन र नयाँ राजनीतिक संस्कृतिको आवश्यकता महसुस गर्दै गगन थापाको नेतृत्वमा चुनाव लड्ने निर्णय गरिएको हो,’ शर्माले बताए।
गगन थापा सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। टिकट वितरण प्रक्रियामा ढिलाइ भएपछि उनले वारेसमार्फत मनोनयन दर्ता गराएका थिए ।