काठमाडौं-राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटा अध्यादेश पेश गरेको छ ।
बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेश गरेका हुन् ।
यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ सभासमक्ष पेश गरिन् ।
यसैगरी विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयक २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरिन् ।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाएका थिए ।
बैठकले पूर्वमन्त्रीहरू ऋषिकेश गौतम, मोहम्मद अफताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र पूर्वसांसद कृष्णकुमारी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक आउँदो आइतवार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।