काठमाडौं – काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ ।
हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको हो।
जसअनुसार आज काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ ।
विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले दिएको जानकारी अनुसार ० देखि ५० एक्युआई राम्रो (हरियो सङ्केत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेँलो सङ्केत) मानिन्छ । त्यस्तै, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ। १५१ देखि २०० एक्यूआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।
काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार वातावरण विभागले सावधानी अपनाउन आग्रह गरेको छ । विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको नियन्त्रण गरी सावधानी अपनाउन आग्रह गरेको छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन समेत विभागको आग्रह छ ।
नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ ।