AarthikBikash
शुक्रबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • राजनीति
  • महाकाली सन्धिबारे देवराज घिमिरेको स्पष्टीकरण : कुनै पनि अन्तर्राष्ट्रिय सन्धिमा मैले हस्ताक्षर गरेको छैन

महाकाली सन्धिबारे देवराज घिमिरेको स्पष्टीकरण : कुनै पनि अन्तर्राष्ट्रिय सन्धिमा मैले हस्ताक्षर गरेको छैन

  • शुक्रबार, फाल्गुन १५, २०८२
महाकाली सन्धिबारे देवराज घिमिरेको स्पष्टीकरण : कुनै पनि अन्तर्राष्ट्रिय सन्धिमा मैले हस्ताक्षर गरेको छैन

झापा – पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा भ्रम सिर्जना गरिएको भन्दै स्पष्टीकरण दिएका छन्।

महाकाली सन्धिबारे धेरैमा भ्रम रहेको भन्दै पूर्व सभामुख घिमिरेले आज फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘धेरैमा भ्रम पनि देखियो,’ महाकाली सन्धिबारे म स्पष्ट छु । जो प्रश्न सोधिरहनुभएको छ, मैले जवाफ पनि दिइरहेको छु । जसले घृणाको राजनीति गर्न खोजिरहनुभएको छ, उहाँहरुलाई कम्तीमा सन्धिबारे अध्ययन र विश्लेषण गर्न अनुरोध गर्दछु। मैले नियोजित हो भन्ने थाहा पाएपछि जवाफ नदिएको हो । अहिले त्यो भिडियो अमुक दलको प्रचार सामग्री बनेछ । म स्पष्ट पार्न चाहन्छु– कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन ।

उनले महाकाली सन्धिका विषयमा उठाइएका जिज्ञासाहरूको उत्तर दिँदै आएको उल्लेख गर्दै तथ्यपरक अध्ययन नगरी आरोप लगाउनु उपयुक्त नहुने बताए।

घिमिरेका अनुसार केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनाउने उद्देश्यसहित खिचिएको भिडियो सन्दर्भबाहिर प्रयोग गरिएको छ। आफूले नियोजित रूपमा सामग्री तयार गरिएको थाहा पाएपछि प्रतिक्रिया नदिएको तर अहिले सोही भिडियो एक राजनीतिक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको दाबी उनले गरेका छन्।

सन्धि भएको समयमा आफू सांसद, मन्त्री वा राज्यको कुनै पदमा नरहेको उल्लेख गर्दै लोकतान्त्रिक दलभित्र नीतिगत विषयमा हुने छलफलका क्रममा आफ्नो धारणा व्यक्त गर्नुबाहेक अन्य कुनै औपचारिक भूमिका नरहेको बताएका छन्।

पार्टीको वैकल्पिक केन्द्रीय सदस्य रहेको व्यक्तिले छिमेकी राष्ट्रसँग सन्धि गर्ने अधिकार राख्छ भन्ने जस्तो प्रचार हुनु तथ्यविहीन रहेको उनको टिप्पणी छ।

घिमिरेले करिब पाँच दशकदेखि राजनीतिक गतिविधिमा संलग्न रहँदै आएको उल्लेख गर्दै व्यक्तिगत लाभका लागि पद प्रयोग नगरेको दाबी गरेका छन्। साथै झापा जिल्ला क्षेत्र नं.२ का मतदाताप्रति आफू उत्तरदायी रहेको बताउँदै त्रुटि भेटिए स्वीकार गर्न इच्छुक रहेको बताएका छन्।

के हो विवाद ?

महाकाली सन्धि अनुमोदन गर्ने-नगर्नेबारे निर्णय लिन तत्कालीन मुख्य विपक्षी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक २०५४ असोज ४ गते बसेको थियो । ६ घण्टा बसेको बैठकले ‘बहुमतद्वारा सन्धि अनुमोदन गर्ने’ निर्णय गर्‍यो । खुला मतदान हुँदा सन्धिको पक्ष र विपक्षमा १७(१७ मत पर्‍यो । पहिलो चरणको मतदानले निर्णय हुन सकेन । तत्कालीन केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ र अष्टलक्ष्मी शाक्य तटस्थ बसे । गोप्य मतदान हुँदा पनि श्रेष्ठ र शाक्यले मतदानमा भाग लिएनन् । अन्ततः सन्धिको पक्ष र विक्षमा १६-१६ मत खस्यो ।

मतदान हुँदा तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी अस्पतालको बेडमा थिए । अधिकारीको मत तत्कालीन वैकल्पिक केन्द्रीय सदस्य देवराज घिमिरेलाई प्रयोग गर्न दिइएको थियो । अधिकारी सन्धिको पक्षमा थिएनन् । तर घिमिरेले अधिकारीको इच्छाविपरीत तत्कालीन स्थायी समिति सदस्य खड्गप्रसाद ओलीको इशारामा महाकाली सन्धिको पक्षमा मतदान गरे ।

त्यतिबेला एमालेले चाहेको भए महाकाली सन्धि हुने थिएन । कालापानी, लिपुलेक, लिम्पियाधुरा र महाकालीको उद्गम विन्दु नसल्टाइ सन्धि भएकाले नेपालले पाएको ठूलो अवसर गुमेको थियो । त्यही भएर देवराज घिमिरेलाई महाकाली सन्धिमा भएको राष्ट्रघातको इतिहासलाई लिएर जनताले सम्झिरहेका हुन्छन् । त्यसैको सानो भिडियो आजभोलि सामाजिक सञ्जालमा भाइरल छ ।

0.jpg

सम्बन्धित समाचार