काठमाडौं – न्यायपरिषद्ले प्रधानन्यायाधीशका रूपमा ६ जनाको नाम संवैधानिक परिषद्मा पठाएको छ।
संविधान तथा कानुनअनुसार योग्यता पुगेका सर्वोच्च अदालतका ६ न्यायाधीशको नाम पठाइएको परिषद्ले जनाएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले १८ चैतदेखि अनिवार्य अवकाश पाउन लागेपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढेको हो।
परिषद्का अनुसार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम भावी प्रधानन्यायाधीशका लागि पठाइएको हो। सामान्यतया वरिष्ठतम न्यायाधीश नै प्रधानन्यायाधीशमा नियुक्त हुने प्रचलन छ।
न्यायपरिषद् ऐनको दफा ४ मा नियुक्तिको एक महिनाअगाडि सिफारिस गर्ने व्यवस्था छ । संविधानको धारा १२९ ले नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरेको छ।
२०१७ मा जन्मिएका वर्तमान प्रधानन्यायाधीश राउतले १८ चैतदेखि ६५ वर्षे उमेरहदका कारण अवकाश पाउँदै छन्।