काठमाडौं – टुँडिखेलमा आज परम्परागत घोडे जात्रा मनाइएको छ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रामा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गरिएको थियो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत संवैधानिक निकायका पदाधिकारीहरू सहभागि थिए।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो।
पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको मान्यता छ ।
साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने राजधानीवासीमा विश्वास छ ।
यसै दिन ललितपुरमा पनि परम्परागत कानो घोडा दौडाएर घोडे जात्रा मनाउने चलन छ।
घोडे जात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।