काठमाडौं – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको परिणामबारे कारण पहिचान गर्न सुझाव माग गरेका छन्।
सोमबार उनले सामाजिक सञ्जालमार्फत पार्टीको अवस्थाबारे समीक्षा आवश्यक रहेको उल्लेख गर्दै राय-सुझाव संकलन सुरु गरेका हुन्।
उनले निर्वाचनको नतिजाले पार्टीलाई ठूलो धक्का पुगेको र यसको वस्तुनिष्ठ समीक्षा अनिवार्य भएकोमा जोड दिएका छन् ।
‘फेरि पनि एमालेको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पसहित अघि बढ्नु पर्दछ । समीक्षा मार्फत जिम्मेवारी किटान गर्नुका साथै जबाफदेहिताको प्रश्न हल हुनेछ । यसका लागि निम्न विषयमा राय, सुझाव, टिप्पणी पठाउन अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।
सामाजिक सञ्जालमार्फत आम नेता-कार्यकर्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूसँग उनले मागेका सुझावमा ‘पहिलो, निर्वाचनमा पार्टीको कमजोर नतिजाका कारण–नीति, नेतृत्व, संगठन, कार्यशैली, व्यवस्थापन, एजेन्डा र प्रचारलगायत आन्तरिक तथा बाह्य पक्षको विश्लेषण । दोस्रो, पार्टी रूपान्तरणका लागि आवश्यक सुधारका ठोस प्रस्ताव तथा त्यसको विधि र प्रक्रिया । तेस्रो, पार्टीका सबल र कमजोर पक्षसहित भविष्यको सम्भावनाबारे धारणा’ रहेका छन् ।
यस क्रममा उनले पार्टी संरचनाभित्र जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्नुपर्ने उल्लेख गर्दै सुझावमार्फत समाधान खोज्ने प्रयास गर्नुपर्ने धारणा राखेका छन्।
उनले पार्टी पंक्तिलाई तीन मुख्य प्रश्नमा केन्द्रित भई आफ्ना धारणा इमेल र व्हाट्सएपमार्फत पठाउन अनुरोध गरेका छन्। उक्त सुझावहरूका आधारमा पार्टीभित्र थप समीक्षा र आगामी रणनीति तय गर्ने जनाइएको छ ।