काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् रहनुपर्नेमा जोड दिएकी छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोग नेपालले बुधबार बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नु नपर्ने र शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा पनि यथावत् राख्नुपर्ने बताइन्।
‘यसपटकको निर्वाचनले अन्तरराष्ट्रियस्तरमा नेपालको छवि राम्रो भएको छ, यसबाट नेपालप्रतिको सम्मान बढेको छ, यो निर्वाचनले संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गरेको छ, यसबाट लोकतन्त्रको संवर्द्धन पनि भएको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
गत भदौ अन्तिम साता आफू प्रधानमन्त्रीमा नियुक्त हुँदा कानुनी र राजनीतिक शून्यता, सुरक्षा संवेदशीलता भएको स्मरण गर्दै उनले त्यो अवस्थाबाट निर्वाचन सम्पन्न गराई लोकतान्त्रिक मूल्य मान्यतालाई लिकमा अघि बढाइएको बताइन्।
सुरुका दिनमा चुनौतीपूर्ण रहे पनि आयोगको अठोट र सरकारको सहयोगमा निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गरेकोमा सबैलाई धन्यवाद पनि दिइन्।