काठमाडौं – संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक बसेको छ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक केहीबेर अघिबाट जारी छ ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वको कार्यदलको बैठकले संविधान संशोधन बहसपत्र तयार पारेर पेस गर्नेछ ।
साथै बैठकमा विभिन्न राजनीतिक दलहरूले पेश गरेका लिखित धारणा, पहिचान भइसकेका संविधान संशोधनका प्रमुख मुद्दाहरू तथा कार्यदलको आगामी कार्ययोजनाबारे विस्तृत छलफल भइरहेको छ ।
कार्यदलमा रास्वपार्टीका तर्फबाट मोहन आचार्य, नेकपा एमालेबाट संविधान सभाका सदस्य एवं डा। भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ, राप्रपाबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही, राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट लगायत सदस्य छन् ।
नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने प्रतिनिधि तोकिसकेका छैनन् ।
यसअघि कार्यदलको पहिलो बैठक गत चैत २५ गते बसेको थियो ।