जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन्।
शुक्रबार जनकपुरधामस्थित प्रदेशसभामा बसेको बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।
जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिएका हुन्।
‘मुख्यमन्त्री यादवले बैठकमा प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३६ मत परेको छ।
मुख्यमन्त्रीको प्रस्तावको पक्षमा कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाका सांसदहरूले मत हालेका छन्।
जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका सांसदले भने विपक्षमा मतदान गरेका छन्।
प्रदेशसभामा कांग्रेसका २२, नेकपा एमालेका २४, नेकपाका १५ र राप्रपाका १ सांसद छन्।
जनमत पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुअघि मुख्यमन्त्री यादवले सत्तागठबन्धन फेरेका छन्। यसअघि सरकारमा सहभागी रहेको जसपा नेपाललाई बाहिर राखेर एमाले र नेकपालाई सामेल गरेर यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
यस अघि गत जेठ १ गते विश्वासको मत लिनको लागि सदन आह्वान गरिए पनि आफ्नै पार्टी काँग्रेस भित्रको असन्तुष्टिले फलोर क्रस गर्ने डरले अन्तिम अवस्थामा आएर उनी पछाडि हटेका थिए।