काठमाडौं – आगामी असार ७ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला सभापतिहरुलाई निर्देशन दिँदै राष्ट्रिय महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको हो ।
जसअनुसार ७७ वटा जिल्ला तथा ७ वटै प्रदेश समितिलाई निर्वाचन समिति गठनका लागि जेठ ७ गतेबाट जेठ १५ गतेसम्मको समय दिइएको छ ।
त्यस्तै रास्वपाले पार्टीको निर्वाचन कार्यालयलाई परिपत्र पठाउँदै आधिकारिक परिपत्र र माइन्यूट प्रतिलिपि पठाउने मिति जेठ ७ गतेदेखि १० गतेसम्मका लागि समय तोकिएको छ ।
रास्वपाले मतदानबाटै नेतृत्व चयन गर्ने तयारी गरेको छ । जसका लागि ईलेक्ट्रिक भोटिङबाट मतदानबारे तयारी गरेको छ ।
जसका लागि जेठ ७ गतेबाट असार ५ गतेसम्मका समय छलफलका लागि समय तोकिएको छ । रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।