काठमाडौं – सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट रसुवाका प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ ।
गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का उद्धार टोलीलाई प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका सम्बन्धमा आवश्यक निर्देशनसहित ब्रिफिङ गरेका छन् ।
ब्रिफिङका क्रममा गृहमन्त्री गुरुङले अहिले कुनै पनि हेलिकप्टर निजी प्रयोजनका लागि सञ्चालन गर्न नपाइने स्पष्ट पारे । प्रभावित क्षेत्रमा उद्धारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
उनले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच समन्वय र तीव्र परिचालनमा जोड दिए ।
सरकारले प्रभावित क्षेत्रमा आवश्यक उद्धार सामग्रीसहित थप जनशक्ति परिचालन गरेको जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीलाई उद्धार तथा राहत कार्यमा खटाइएको छ ।
गृहमन्त्री गुरुङले उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्दै उपलब्ध जनशक्ति, स्रोतसाधन तथा हवाई साधनको प्रभावकारी परिचालन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।