रसुवा – रसुवाको १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको केबल टनेलमा एक शव फेला परेको छ।
नेपाली सेनाका अनुसार मंगलबार आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनमार्फत खोजी गर्दा शव फेला परेको हो। बाढीपछि उक्त आयोजनामा कार्यरत चार जना सम्पर्कविहीन थिए।
चिनियाँ कम्पनीले निर्माण गरिरहेको रसुवा–भोटेकोशी आयोजनाको केबल टनेलमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको छ।
यसैबीच, टिमुरेस्थित रसुवागढी जलविद्युत् आयोजनाको टनेलमा आयोजनाका प्रतिनिधि र सेनाका उद्धारकर्मीले पावरहाउसको कन्ट्रोल रुमसम्म पुगेर खोजी जारी राखेका छन्। लाङटाङ जलविद्युत् आयोजनामा पनि सेनाको उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
चिलिमे जलविद्युत् आयोजनाको टनेलमा विदेशीसमेत सहभागी उद्धार टोलीले ६ मिटरका ठूला पाइप प्रयोग गरी आवतजावत गर्न मिल्ने बाटो तयार गरेको छ। स्याफ्रुबेँसीदेखि चिलिमेसम्म हेभी उपकरण लैजान अवरोध बनेको ठूलो ढुंगा विस्फोट गरी हटाइएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चिलिमे आयोजनाको टनेलमा डेब्रिज हटाउँदै उद्धारकर्मी ११५ मिटरभित्र प्रवेश गरिसकेका छन्। अपर त्रिशूली–१ को टनेलमा संयुक्त उद्धार टोली करिब ४०० मिटरभित्र प्रवेश गरेर खोजीमा जुटेको छ।
त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा टनेलमा खोज तथा उद्धारका लागि ३४ जना सैनिक, चार जना सशस्त्र प्रहरी र आयोजनाका प्रतिनिधि परिचालन भएका छन्। त्यस्तै, त्रिशूली–३ ‘बी’ मा १०१ जना सैनिक उद्धारकर्मी तथा आयोजनाका प्रतिनिधिको टोलीले खोजी गरिरहेको छ।
त्रिशूली–३ ‘बी’ को कार्यालय तथा आवासगृह क्षेत्र पत्ता लगाउन २३ फिट गहिराइसम्म उत्खनन गरिए पनि अहिलेसम्म संरचना फेला नपरेको सेनाले जनाएको छ।
रसुवा–नुवाकोटमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनासँग सम्बन्धित करिब ९०० जना सम्पर्कविहीन देखिए पनि तीमध्ये १२१ जना सुरुङभित्र फसेको आशंका गरिएको नेपाली सेनाले जनाएको छ।