काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग १५ रनको हार बेहोरेको छ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमै अलआउट भयो।
नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रनको उत्कृष्ट पारी खेले। उनले टोलीलाई जितनजिक पुर्याउने प्रयास गरे पनि अन्य ब्याटरबाट पर्याप्त साथ नपाउँदा नेपालको हार टारिएन। आशिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुलशन झाले २० रन बनाए।
हङकङका लागि अइजाज खानले चार विकेट लिए। यासिम मुर्ताजा दुई तथा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक–एक विकेट लिए।
त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको थियो। उसका लागि बाबर हयातले अविजित ११७ रनको शतकीय पारी खेले। एहसान खान ३५ रनमा नटआउट रहे भने शाहिद वसिफले ४५ र जिशान अलीले १५ रन बनाए।
हङकङको सुरुवात कमजोर रहे पनि बाबर हयात र एहसान खानले आठौँ विकेटका लागि १२८ रनको अविजित साझेदारी गर्दै टोलीलाई बलियो योगफलतर्फ पुर्याएका थिए।
नेपालका सन्दीप लामिछानेले चार तथा शेर मल्लले तीन विकेट लिए।
हारसँगै नेपालले समूह चरणको अपराजित यात्रा कायम राख्न नसके पनि यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले, दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो ।
हारका बाबजुद नेपाल नेट रनरेटमा अघि रहँदै समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह ‘ए’ मा नेपाल र हङकङले समान ६–६ अंक जोडेका छन्। दुवैले चार खेलमा तीन जित र एक हार बेहोरे पनि उत्कृष्ट नेट रनरेटका आधारमा नेपाल समूह विजेता र हङकङ उपविजेता बनेका हुन्।
सेमिफाइनलमा नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईले हङकङको सामना गर्नेछ।
प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ। प्रतियोगिताको विजेता टोलीले सन् २०२६ को एसिया कपमा सहभागिता जनाउनेछ।