काठमाडौं – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार गरेको छ।
शुक्रबार २०औँ एसियाली खेलकुदअन्तर्गत टेस्ट टोली अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेपछि सार्वजनिक गरिएको नयाँ वरियतामा नेपाल १४औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १६औँ स्थानमा थियो।
नेपालसँगको पराजयपछि अफगानिस्तान भने वरियतामा एक स्थान तल झर्दै नवौँबाट दशौँ स्थानमा पुगेको छ।
अफगानिस्तानविरुद्धको खेलमा नेपाली टोलीले ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गर्दै पाँच विकेटको जित निकालेको थियो। यो जितसँगै नेपालको एसियाली खेलकुदको क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो बनेको छ ।
नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ ।