काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमतिको पर्याप्त सम्भावना हुँदाहुँदै संस्थापन पक्षले एकपक्षीय रूपमा महाधिवेशनको मिति तोकेको भन्दै त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने चेतावनी दिएका छन्।
मंगलबार ७ बुँदे अपिल जारी गर्दै देउवाले यस्तो चेतावनी दिएका हुन्।
देउवाले संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह पनि गरेका छन्।
पार्टीको विधान र केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशन गर्ने समूहले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको देउवाको दाबी छ। अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र सर्वमान्य कानुनी सिद्धान्तविपरीत हुने उनको जिकिर छ।
‘सहमति हुने पर्याप्त सम्भावना हुँदाहुँदै हतारमा गरिएको एकपक्षीय निर्णयले पार्टीलाई विभाजनतर्फ धकेल्छ,’ देउवाले अपिलमा भनेका छन्।
उनले २००७ सालदेखि हालसम्म भएका राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसले खेलेको भूमिकाको स्मरण गर्दै पार्टीको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्त्वाकांक्षाले निस्तेज पार्न नसक्ने बताएका छन्।
निर्वाचन परिणामले विशेष महाधिवेशन पक्षधर नेतृत्वको लोकप्रियताको दाबीलाई असत्य सावित गरिसकेको उल्लेख गर्दै देउवाले अनुभवी नेतृत्वबाट निर्वाचन जित्न सकिँदैन भन्ने दुष्प्रचारबाट कार्यकर्ता जोगिनुपर्ने बताएका छन्।
आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नभएको स्पष्ट पार्दै देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको बताएका छन्।
पार्टीलाई विभाजन गर्ने वा कमजोर बनाउने गतिविधि हुँदा आफू मुकदर्शक भएर बस्न नसक्ने उल्लेख गर्दै उनले १४औँ महाधिवेशनबाट स्थापित वैधानिक प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
देउवाले आफू पक्षले आगामी मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशन गर्ने बताएका छन्। यता, संस्थापन पक्षले भने असोजमै महाधिवेशन गर्ने मिति तोकेको छ।
यस्तो छ देउवाले जारी गरे ७ बुँदे अपिल
