AarthikBikash
सोमवार, अशोज ५, २०८३
  • होमपेज
  • राजनीति
  • ‘एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा’ : ओली

‘एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा’ : ओली

  • सोमवार, अशोज ५, २०८३
‘एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा’ : ओली

काठमाडौं – पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको आरोप लगाएका छन् ।

सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले जेनजी आन्दोलनको क्रममा निजी सम्पतिमा समेत देशव्यापी रुपमा आगजनी गर्ने एवम् लुटपाट गर्ने कार्यलाई क्रान्ति या परिवर्तन मान्न नसकिने पनि बताएका छन् ।

ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन्–‘यी घटनाहरूमा सत्ता परिवर्तनको उद्देश्यले बाह्य रुपमा प्रायोजित रणनीतिको स्पष्ट छाप देखिन्छ । हालै विभिन्न विदेशी सञ्चार माध्यममा आएका नयाँ तथ्यहरूले नेपालको आन्तरिक राजनीतिमा भूराजनीतिक स्वार्थहरू कसरी प्रकट भएका थिए भन्ने तथ्यलाई पुष्टि गर्दै लगेका छन् ।’

साथै, नेपालको भूमिबाट छिमेकीहरूका संवेदनशीलतामाथि आँच पुर्‍याउने काम सरकारकै संरक्षणमा भइरहेको पनि उनको आरोप छ ।

प्रतिवेदनमा ओलीले भनेका छन्–‘त्यस घटना यता नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको छ । नेपालको भूमिबाट छिमेकीहरूका संवेदनशीलतामाथि आँच पुर्याउने काम सरकारकै संरक्षणमा भइरहेका छन् ।’

अध्यक्ष ओलीले पार्टीभित्र चर्को रूपमा उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको मागलाई ठाडै अस्वीकार गरेका छन् । उनले आफूले अध्यक्ष पद नछाड्ने निष्कर्ष समेत केन्द्रीय समिति बैठकमा सुनाएका छन्।

उनले पार्टी पनुर्गठनको बहस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोसिस गर्दै उनले यसलाई लहडको विषयम नबनाउन चेतावनी दिएका छन् । पार्टी कस्तो अवस्थामा छ भन्ने ख्याल नगरी  नेतृत्व विस्थापन गर्ने कार्य पुनर्गठन नहुने उनको तर्क छ ।

उनले राष्ट्रिय राजनीतिदेखि पार्टी भित्रका समस्या र आगामी कार्यभार सम्मका धारणा समेटेर ल्याएको प्रतिवेदनमा  इतिहासमा पार्टी कसरी पुनर्गठन भएका थिए भन्ने दृष्टान्त समेत पेश गरेका छन् ।

केशरजंग रायमाझीको दरबार प्रवेशदेखि झापा आन्दोलन र २०७५ सालसम्मका विगतका तीनवटा पुनर्गठनका घटनालाई सन्दर्भमा ल्याएर उनले अहिलेको अवस्था त्यस्तो त्यस्तो नभएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्–‘के हो पुनर्गठन ? कस्तो अवस्थामा हुन्छ ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ ? हाम्रो धारको आन्दोलनमा कति पल्ट र कहिले कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ। पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन ।’

यी र यस्ता परिस्थितिमा चालिएका बाध्यकारी र आन्दोलनका जीवनमा सकारात्मक प्रभाव पार्ने संगठनात्मक ठूला कदमहरूचाहिँ पुनर्गठन भएको उनले बताए ।

उनले भनेका छन्–‘यति बेला चले, चलाइएको पुनर्गठनको हल्लाले शब्दार्थ वा भावार्थ केही पनि बोक्दैन र औचित्य, आवश्यकता र समय सन्दर्भसँग पनि विल्कुलै मेल खाँदैन ।’

रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण तीनैवटा कुरालाई अहिलेको सही अर्थमा बुझ्नुपर्ने उनको धारणा छ ।

उनले भनेका छन्–‘रूपान्तरण भनेको इतिहास मेट्नु होइन। पार्टीको सङ्घर्ष, विचार, बलिदान र संगठनात्मक परम्परालाई अस्वीकार र अपमान गर्नु होइन। रूपान्तरण भनेको कार्यशैली बदल्नु हो, जनतासँग बोल्ने भाषा बदल्नु हो, निर्णय प्रक्रिया छरितो बनाउनु हो, कमिटीलाई बैठक गर्ने औपचारिक संरचनाबाट जनताको समस्या समाधान गर्ने केन्द्रमा बदल्नु हो, नेतृत्वलाई आदेश दिने तहबाट सुन्ने, बुझ्ने र परिणाम दिने तहमा बदल्नु हो ।’

उनले आफ्नो औचित्यता पुष्टि गर्न रुखको बिम्ब प्रयोग गर्दै भनेका छन्–‘पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा काटिँदैन। जरालाई पोषण दिएर नयाँ पालुवा हुर्काइन्छ। एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो । हस्तान्तरण पद खाली गर्ने आकस्मिक र मनमौजी घटना होइन।’

जिम्मेवारी, ज्ञान, अनुभव, संस्था, राजनीतिक संस्कृति र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरण हुनुपर्ने तर तयारीबिनाको हस्तान्तरणले रिक्तता पैदा गर्न सक्ने उनको धारणा छ ।

ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेसँगै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

बैठक भोलि बिहान ९ बजे बस्नेछ। बैठकमा ‌ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ।

सम्बन्धित समाचार