काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकार चलाउने नैतिक आधार नरहने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि आन्दोलनका दोषीमाथि कारबाही हुन नसकेको आरोप लगाए।
राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन बुझाइसक्दा समेत दोषी पक्राउ नपरेको भन्दै उनले सरकारमाथि प्रश्न उठाए।
‘यदि पक्रिन सक्नुहुन्न भने सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ ? ती आमाको आँखाको आँसु पुछ्नुस्,’ शाहीले भने।
जेनजी आन्दोलनमा जो–जो दोषी छन्, उनीहरूलाई सत्तापक्ष वा प्रतिपक्ष नहेरी पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ छ।
‘संसद्मा एक जना सांसद रुँदै गर्दा कुर्सीमा तपाईंहरू कसरी बस्न सक्नुहुन्छ ? पक्राउ गर्नुस्,’ शाहीले भने।