AarthikBikash
आइतवार, अशोज ११, २०८३
  • होमपेज
  • समाज
  • पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु, तीन बेपत्ता

पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु, तीन बेपत्ता

  • आइतवार, अशोज ११, २०८३
पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु, तीन बेपत्ता

रूपन्देही – अविरल वर्षासँगै आएको पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

दुई दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो र बाढीको जोखिम बढेको छ ।

पहिरोमा परी माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेका ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विमल भट्टराईका अनुसार ठिमुरेमा पहिरोले घर पुरिँदा बेपत्ता भएकी सारुको खोजी गर्ने क्रममा शव फेला परेको हो । पहिरोले घर पुरिएपछि उनी बेपत्ता भएकी थिइन् ।

यस्तै, माथागढी गाउँपालिका–२ रुप्से रजौलीका चिदीको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षासँगै आएको पहिरोका कारण जिल्लाका विभिन्न ग्रामीण सडक तथा बस्ती जोखिममा परेका छन् ।

यसैबीच कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगाएको छ । कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याम नजिकै रहेको पुल बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बाढीका कारण पाल्पाको माडीफाँट डुबानमा परेको छ । झडेवा फाँटलगायतका क्षेत्रमा पानी पस्दा धानबालीमा समेत क्षति पुग्ने अवस्था देखिएको छ ।

माथागढी गाउँपालिका–४ झडेवाको देउगीर क्षेत्रमा जमिन चिरिएपछि दर्जनौँ घरपरिवार जोखिममा परेको गाउँपालिका अध्यक्ष यम चिदीले बताए । जमिन चिरिएसँगै स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए ।

लगातारको वर्षाका कारण पाल्पाका नदी तथा खोलानालामा पानीको सतह बढेको छ । सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह तथा सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार