धादिङ – बाढीले क्षतिग्रस्त बनाएको गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
ट्रयाक खुलेसँगै रसुवा जाने मुख्य सडकमार्गमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी गराएका हुन् ।
मन्त्री लम्सालका अनुसार ट्रयाक खुले पनि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी छ।
सडक निर्माण तथा मर्मतको काम तीव्र रूपमा अघि बढिरहेका बेला बाक्लो सवारी आवतजावत हुँदा काम प्रभावित भइरहेको भन्दै उनले निर्माण कार्यमा आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह गरेका छन्।
यसैबीच, ट्रयाक खुलेसँगै सडकखण्डमा बेलिब्रिज जडानको कामसमेत तीव्र पारिएको छ। नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा पुल जडानको तयारी अघि बढाइएको छ।
यस्तै, रसुवातर्फ बेलिब्रिजको फाउन्डेसन निर्माण पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिएका छन्।
निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्रै बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बाढीले सडक संरचनामा क्षति पुर्याएपछि रसुवा आवतजावत लामो समयदेखि प्रभावित हुँदै आएको थियो। ट्रयाक खुलेपछि यातायात सञ्चालनमा सहजता आउने र बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।