काठमाडौं – ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंमा एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका २२ वर्षीय बिक्की कुमार महतो रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार महतोलाई मंगलबार साँझ काठमाडौं महानगरपालिका–११ माइतीघरस्थित सडकमा शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
चेकजाँच तथा सोधपुछका क्रममा उनले 1xBet र Mobcash एपमार्फत अनलाइन सट्टेबाजी तथा जुवा खेल्ने–खेलाउने गरेको खुलेको प्रहरीले जनाएको छ।
साथै, उनले USDT लगायत अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारसमेत गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार महतोले हालसम्म ३ करोड ३८ लाख ८ हजार ३५० रुपैयाँ ९१ पैसाभन्दा बढीको कारोबार गरेको देखिएको छ।
प्रहरीले उनको साथबाट एउटा मोबाइल फोन बरामद गरेको छ। उनलाई अभौतिक मुद्रा तथा सट्टेबाजीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।