AarthikBikash
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा खेल्दै

एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा खेल्दै

  • मङ्लबार, कार्तिक १८, २०८३
एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा खेल्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर र जनकपुर भिड्नेछन् । तीन खेल खेलेको विराटनगरले एकमा जित र दुईमा हार बेहोरेको छ । विराटनगर चितवन र कर्णालीसँग पराजित भएको थियो भने सुदूरपश्चिमलाई हराएको थियो ।

तीन खेल खेलेको जनकपुरले भने दुईमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले त्यसपछि काठमाडौं र पोखरालाई हराएको थियो ।

जनकपुर आज तेस्रो जितको खोजीमा मैदान उत्रनेछ भने विराटनगर दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । यसैगरी आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ । सुदूरपश्चिमविरुद्ध जित हात पारेको लुम्बिनीको चितवन राइनोजसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।

उता, पोखरा भने जितको खोजीमा छ । उसले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ । पोखरा पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।

आज लुम्बिनीलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित पोखरा मैदान उत्रनेछ । लुम्बिनी भने दोस्रो जित निकाल्दै आफ्नो स्थिति बलियो बनाउने दाउमा हुनेछ ।

सम्बन्धित समाचार