काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले न्यायाधीशहरूको आचरण र नैतिकतामाथि सार्वजनिक रूपमा उठेका प्रश्नको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
न्यायपालिकाको विश्वसनीयतासँग जोडिएका गम्भीर विषय सार्वजनिक स्पष्टीकरणबाट मात्रै टुंगिन नसक्ने भन्दै संस्थाले संसदीय समितिमार्फत अनुसन्धान अघि बढाउन आग्रह गरेको हो ।
सोमबार विज्ञप्ति जारी गर्दै ट्रान्सपरेन्सीले सञ्चारमाध्यममा सार्वजनिक भएका विवरणका आधारमा आचारसंहिता उल्लंघनको आरोप लागेका न्यायाधीशहरूको भूमिकाबारे तत्काल छानबिन गर्न माग गरेको छ ।
संस्थाले आरोपमा मुछिएका न्यायाधीशहरूबारे उठेका प्रश्नको निरूपण नभएसम्म उनीहरूलाई न्याय सम्पादनको जिम्मेवारीबाट अलग रहनसमेत सुझाव दिएको छ । यस्तो कदमले न्यायिक निष्पक्षता र संस्थागत विश्वसनीयता कायम राख्न सहयोग पुग्ने ट्रान्सपरेन्सीको धारणा छ ।
विचाराधीन मुद्दाका पक्ष, बिचौलिया वा प्रभावशाली व्यक्तिसँग न्यायाधीशको भेटघाट तथा सम्पर्क न्यायिक आचारसंहिताका दृष्टिले गम्भीर विषय भएको उल्लेख गर्दै संस्थाले यस्ता गतिविधिबारे स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा जोड दिएको छ ।
‘उठेका प्रश्नहरू गम्भीर प्रकृतिका भएका र न्यायालयको आमूल सुधार अत्यावश्यक रहेको तथ्य जगजाहेर रहेको सन्दर्भमा आक्षेप लागेका व्यक्तिहरूले दिएका सार्वजनिक स्पष्टीकरणहरूले मात्र उठेका प्रश्नहरूको समाधान दिन सक्ने अवस्था देखिँदैन,’ विज्ञप्तिमा भनिएको छ ।
ट्रान्सपरेन्सीले न्यायाधीशहरूमाथि उठेका प्रश्नको छानबिनका लागि संसदीय प्रक्रिया अघि बढाउनुपर्ने जनाएको छ । सम्बन्धित संसदीय समितिमार्फत तथ्यगत अनुसन्धान गरी त्यसको निष्कर्षका आधारमा आवश्यक निर्णय लिन पनि संस्थाले आग्रह गरेको छ ।
त्यसैगरी, आरोपसँग जोडिएका न्यायाधीशहरूको सम्पत्तिसमेत छानबिनको दायरामा ल्याउन माग गरिएको छ ।
न्यायपालिकाप्रतिको सार्वजनिक विश्वास कायम राख्न उठेका आरोपको सत्यतथ्य पहिचान र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने ट्रान्सपरेन्सीको निष्कर्ष छ ।