AarthikBikash
शुक्रबार, कार्तिक २१, २०८३
  • होमपेज
  • खेलकुद
  • एनपीएल : सुदूरपश्चिमको शानदार जित, कर्णाली ३९ रनले पराजित

एनपीएल : सुदूरपश्चिमको शानदार जित, कर्णाली ३९ रनले पराजित

  • शुक्रबार, कार्तिक २१, २०८३
एनपीएल : सुदूरपश्चिमको शानदार जित, कर्णाली ३९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ३९ रनले हराएको हो ।

सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रनमात्रै बनाउन सक्यो ।

पहिलो ओभरको दोस्रो बलमै कर्णालीले पहिलो विकेटका रुपमा अरिफुल इस्लामलाई गुमायो । उनी खातासमेत खोल्न नसकी पभेलियन फर्किए । स्कट कुगलेइनले सुदूरपश्चिमलाई पहिलो ओभरमै पहिलो सफलता दिलाए ।

३।२ ओभरमै दुवै ओपनरलाई गुमायो । मार्क वाटले ९ बलमा ४ रनमात्रै बनाए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका डेभिड मिलरले अर्धशतकीय पारी खेलेपनि टोलिको हार टार्न सकेनन् । उनी ९३ रनमा नटआउट रहे । जारी प्रतियोगितामा उनले बनाएको यो सर्वाधिक रन हो ।

दीपक डुम्रेले १८ रन बनाउँदा कर्णालीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कर्णालीले पावरप्लेमा ३ विकेट गुमाएर ३५ रन बनायो । कर्णालीले ८.५ औं ओभरमा चौथो विकेट गुमायो । पवन सर्राफले १३ बलमा ५ रनमात्रै जोडेर पभेलियन फर्किए । यसपछि ब्याटिङमा आएका हुसैन तलातको ब्याट पनि चल्न सकेन । उनले एक रनमात्रै बनाए ।

१० ओभरको समाप्तिमा कर्णालीले ५ विकेट गुमाएर ५० रनमात्रै बनायो । कर्णालीलाई झन्डै १३ को रनरेट आवश्यक थियो । तर टोलिले ५ को रनरेटमा ब्याटिङ गर्दै थियो ।

यसअघिको खेलमा म्याच विनिङ पारी खेलेका कप्तान सोमपाल कामी सातौं नम्बरमा ब्याटिङमा उत्रिए । आफ्नो जर्सी नम्बर १० डेभिड मिलरलाई दिएका उनी ५ नम्बर जर्सीमा ब्याटिङ गर्न आएका थिए ।

सोमपाल र मिलरको जोडी धेरैबेर टिक्न सकेन । सोमपाल छक्का हान्ने क्रममा आउट हुन पुगे । लङ शट खेल्नेक्रममा उनलाई अभिनाष बोहराले आउट पारे । १७ बल खाएका उनले ८ रनमात्रै बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले दुई तथा दीपेन्द्र सिंह ऐरी, अनिल खरेल, हेमन्त धामी अभिनाष बोहरा र थारिन्दु रत्नायकेले एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन जोड्यो ।

सुरुवातमै आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले ५ ओभरमै ५० रन कटायो । पावरप्लेमा टोलिले बिना विकेटको क्षतिमा ६३ रन बनायो । विनोद भण्डारी र सैफ जइबको ओपनिङ साझेदारीले सुदूरपश्चिम ठूलो स्कोरतर्फ अघि बढ्दै थियो ।

तर, भण्डारी २७ रनमा रनआउट भए भने जइबलाई कर्णालीका सुर्य तामाङले ३५ रनमा पभेलियनको बाटो देखाए । दुई ओपनर आउट भएपछि सुदूरपश्चिमको ब्याटिङ सुस्त भयो ।

कप्तान दीपेन्द्र सिंह ऐरी पनि रनआउट हुन पुगे । उनी रनआउट हुँदा सुदूरपश्चिम ११.४ ओभरमा ३ विकेट गुमाएर ९५ रनको अवस्थामा थियो । १४ बल खाएका ऐरीले १० रनमात्रै बनाए । ब्रेन्डन म्याकमुलनले १६ बलमा २४ रन जोडे ।

पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका ईशान पाण्डेले २३ रन बनाए । उनले १५ औं ओभरमा जीवनदान पाए । डेभिड मिलरले उनको क्याच मिस गरे । तर, दोस्रो पटक भने मिलरले गल्ती गरेनन् । उनले पाण्डेकै उत्कृष्ट क्याच लिए ।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका थारिन्दु रत्नायकेले आक्रामक ब्याटिङ गर्दै सुदूरपश्चिमको योगफल उकासे । उनी २२ रनमा अविजित रहे । यस्तै स्कट कुगलेइनले नटआउट १३ रन बनाए ।

बलिङतर्फ कर्णालीका मार्क वाटले दुई तथा नन्दन यादव, सूर्य तामाङ र हुसैन तलातले एक एक विकेट लिए ।

कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो भने दोस्रो खेलमा विराटनगर किङ्समाथि ४ विकेटको रोमाञ्चक जित निकालेको थियो । यस्तै काठमान्डु गोर्खाजसँग भने ४ विकेटले पराजित भयो ।

सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले पराजित हुँदा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो । तेस्रो खेलमा विराटनगरसँग ३५ रनले पराजित हुँदा भने चौथो खेलमा भने चितवनलाई ५ विकेटले हरायो ।

अघिल्लो समाचार

Fußball Endspiel In Berlin
Fußball Endspiel In Berlin

सम्बन्धित समाचार