बझाङ – बझाङमा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।
सोमबार बिहान करिब १०ः२० बजे बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना भएको हो।
टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ हिनगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएपछि सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० का तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ देखि ४० वर्षीया राजमती महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महरा रहेका छन्।
प्रारम्भिक जानकारीअनुसार अटोमा चारदेखि पाँच जना सवार थिए। दुर्घटनापछि एक बालक बेपत्ता भएका छन् भने घाइतेहरूको उद्धार कार्य भइरहेको छ।
बेपत्ता बालकको खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ।