AarthikBikash
आइतवार, मंसिर ७, २०८३
  • होमपेज
  • खेलकुद
  • एनपीएलका लागि आठ रंगशाला बनाउने बालेनको घोषणा, तीन महिनाभित्र प्रक्रिया अघि बढ्ने

एनपीएलका लागि आठ रंगशाला बनाउने बालेनको घोषणा, तीन महिनाभित्र प्रक्रिया अघि बढ्ने

  • आइतवार, मंसिर ७, २०८३
एनपीएलका लागि आठ रंगशाला बनाउने बालेनको घोषणा, तीन महिनाभित्र प्रक्रिया अघि बढ्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी आठवटै फ्रेन्चाइज क्लबका लागि आफ्नै क्रिकेट रंगशाला निर्माण गरिने घोषणा गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले सबै आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने जानकारी दिएका हुन्। उनका अनुसार ती रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ।

एनपीएलको तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको बताए। उनले आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने जानकारी दिएका छन्।

‘क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार छ,’ प्रधानमन्त्री शाहले लेखेका छन्।

प्रधानमन्त्रीले सार्वजनिक गरेको योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गरिनेछ।

त्यस्तै, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला तोकिएको छ।

सम्बन्धित समाचार