काठमाडौं – अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव इन्द्रदेव यादवलाई दिएका छन्। मन्त्रीस्तरीय निर्णय गर्दै वाग्लेले यादवलाई विभागको नेतृत्व सुम्पिएका हुन्।
महोत्तरीको प्रमुख जिल्ला अधिकारीबाट मंसिर ४ गते अर्थ मन्त्रालयमा सरुवा भएका यादवलाई त्यसलगत्तै विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो।
यसअघि विभागको महानिर्देशक रहेका निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको थियो। ढकालको सरुवापछि रिक्त रहेको पदमा यादवलाई जिम्मेवारी दिइएको हो।
यसैबीच, अर्थमन्त्री वाग्लेले सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा सहमहालेखाको जिम्मेवारीमा खटाउने निर्णय गरेका छन्। मंसिर ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अर्थ मन्त्रालयमा सरुवा भएकी शर्मालाई उक्त जिम्मेवारी दिइएको हो।
महालेखा नियन्त्रक कार्यालयमा कार्यरत सहमहालेखा नियन्त्रक दीपक लामिछाने गृह मन्त्रालयमा सरुवा भएपछि रिक्त रहेको स्थानमा शर्मालाई खटाइएको हो।