काठमाडौं – नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिकबाट नियालिरहेको बताएको छ। परराष्ट्र मन्त्रालयका आज शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उक्त कुरा बताएकी हुन्।
‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपाल सधैँभर एक चीन नीतिको समर्थन गर्दै आएको छ,’ प्रवक्ता लम्सालले भनिन्। अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यसै साता चीनको चेतावनीको बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन–ताइवान र चीन–अमेरिका सम्बन्धमा तनाव बढेको छ।
‘दुवै मुलुक (नेपाल र चीन)ले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएका छन्,’ परराष्ट्र प्रवक्ता लम्सालले भनिन्, ‘एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको जानकारी गराउन चाहन्छु।’
पत्रकार सम्मेलनमा उनले परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ गतेसम्म गर्ने चीन भ्रमणलाई चीन–ताइवान बढ्दो तनावसँग जोडेर नहेर्न आग्रह गरिन्। ‘घटना पछि भएको हो, परराष्ट्रमन्त्रीको चीन भ्रमणको तयारी धेरै पहिला देखि सुरु भएको हो,’ उनले भनिन्।