काठमाडौं-नेकपा एमालेको कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले एमाले पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गा विवादसम्वन्धी रिट खारेज गरेको हो ।
सर्वोच्च अदालतले भाटभटेनीका सञ्चालक गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर्यो । न्यायाधीशहरू मुसलमान र ढकालको इजलासले रिट निवेदन खारेज गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
तर आदेशको विवरण सार्वजनिक भइसकेको छैन । गत दशैंको फुलपातीको दिन भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले एमाले केन्द्रिय कार्यालयका लागि जग्गा दान दिने घोषणा गर्दै अर्कोवर्षभित्र भवन समेत बनाइदिने घोषणा गरेका थिए ।
कतिपय मुद्दाहरुको सामना गरिरहेका व्यक्तिबाट सत्तारुढ दलले सहयोग लिँदा स्वार्थको द्वन्द्व हुने र त्यसले नीतिगत मामिलामा समेत असर पर्ने भन्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेत लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
१२ कार्तिकमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश मार्फत भवन निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो ।