काठमाडौं– सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँ कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नक्कली भएको प्रहरीको फरेन्सिक रिपोर्टले देखाएको छ । ०७७ जेठ र असारमा सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको ग्लोबल आइएमई बैंक खातामा जम्मा भएको एक करोड रुपैयाँ लामिछानेको नाममा कर्जा देखाइएको थियो । तर फरेन्सिक प्रतिवेदनले हस्ताक्षर उनीसँग मेल नखाने पुष्टि गरेको हो ।स्रोतका अनुसार कास्की जिल्ला अदालतमा भएको बहसमा जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले पनि कर्जा खाता कृत्रिम रहेको स्वीकार गरेकी छन् । तर प्रहरीको अनुसन्धान प्रतिवेदनमा सो फरेन्सिक रिपोर्ट समावेश भए पनि अदालतमा भने नभेटिएको स्रोतले बतायो ।
लामिछानेले रकम व्यक्तिगत रूपमा प्रयोग नगरेको प्रमाणित भएको वकिलहरूले बताएका छन् । प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको थियो ।