AarthikBikash
शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सीआईबीको छानविनमा रहेका पवन साह र शेर्पाको कम्पनीमा राजश्वको छापा, करोडौंको अवैध भेप बरामद

सीआईबीको छानविनमा रहेका पवन साह र शेर्पाको कम्पनीमा राजश्वको छापा, करोडौंको अवैध भेप बरामद

  • बिहिबार, पुस २५, २०८१
सीआईबीको छानविनमा रहेका पवन साह र शेर्पाको कम्पनीमा राजश्वको छापा, करोडौंको अवैध भेप बरामद

काठमाडौं– राजस्व अनुसन्धान विभागले एउटै गोदामबाट अवैध रुपमा भित्र्याइएको करोडौं मूल्यबराबरको इलेक्ट्रिक सिगरेट (भेप) बरामद गरेको छ । ललितपुरको इमाडोलमा रहेको गोदामबाट करिब ५० करोड रुपैयाँबराबरको अवैध भेप बरामद भएको विभागले जनाएको छ । विभाग स्रोतका अनुसार उक्त भेप सिल्क ट्रान्सपोर्टका सञ्चालक रमेश शेर्पा र शंकास्पद भारतीय नागरिक पवनकुमार साहको भएको बुझिएको छ ।विभागले चीनबाट अवैध रुपमा नेपाल ल्याई गोदाममा राखिएको भेपको बजार ३५ देखि ५० करोड रुपैयाँसम्म रहेको अनुमान गरेको छ ।

पवनकुमार साह र रमेश शेर्पाले विगत केही बर्षदेखि तातोपानी र रसुवा नाकाबाट अवैध रुपमा भेप तस्करी गरी भारतमा बिक्री गर्दैआएका छन् । तातोपानी र रसुवामा भन्सार विभाग र राजस्व अनुसन्धानले अनुगमन बढाएपछि उनीहरुले मुस्ताङको कोरलाबाट समेत भेप तस्करी गर्दैआएको स्रोतको दावी छ ।

कोरलाबाट समेत भेप तस्करी हुने गरेको सूचना पाएको विभाग गोप्य अनुसन्धानका क्रममा इमाडोलको गोदामसम्म पुगेको हो । विभागले मंगलबार इमाडोलको गोदाममा छापा मारेको थियो ।रौतहटको चन्द्रनिगाहपुरबाट नेपाली नागरिकता लिन सफल भएका पवनकुमार साह र रमेश शेर्पाले अरबौंको भेप चीनबाट ल्याउने र भारत पुर्याउने गरेको स्रोत बताउँछ ।

प्रहरीदेखि भन्सार सबैतिर सेटिङ गरी उनीहरुले भेपको तस्करी गर्ने र भारतमा लाने गरेका थिए । सबैतिर सेटिङ गरी भेप तस्करी गर्दैआएका पवनकुमार साह यो पटक भने राजस्वको फन्दामा परेका छन् । साहको प्रहरी, भन्सारदेखि राजनीतिका बिचौलियाहरुसँग बाक्लो उठबस रहेको छ । साहले प्रधानमन्त्री केपी ओलीनिकट भक्तपुरका एक बिचौलियामार्फत् राजस्व अनुसन्धान विभागमा दबाब दिएर घटना गुपचुप बनाउन खोजेपनि उनी सफल नभएको बताइएको छ । बिभागले साह र शेर्पा दुबैलाई खोजी गरिरहेको छ ।

पवन कुमार साह तिनै व्यक्ति हुन्, जसले जीबी राईले सहकारी ठगी गरेर ललितपुरको भंैसेपाटीमा किनेको एक अर्बभन्दा बढी पर्ने २३ रोपनी ७ आना जग्गा १२ करोड ५० लाखमा खरिद गरेका थिए । उक्त जग्गा साहको कम्पनी चेनी क्यापीटलले खरिद गरेको छ । चेनीमा बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीको पनि सेयर रहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुसँग बयान लिए पनि सहकारीको रकमले जग्गा किन्ने उनीहरुलाई प्रतिवादी बनाएर मुद्दा दर्ता नगरी उन्मुक्ति दिएको छ । सहकारी समस्यामा परिसकेपछि जीबी राईले उक्त जग्गा ३३ किलो सुन काण्डमा कारबाही भोगेका चेतन भण्डारी र विवादास्पद नागरिक पवनकुमार साहको संयुक्त लगानीको कम्पनी चेनी क्यापिटललाई १२ करोड ५० लाखमा बिक्री गरेका थिए ।

पवनकुमार साहले जिल्ला प्रशासन कार्यालय रौतहटबाट नक्कली बाबु बनाएर २०५२ साल मंसिर ७ गते नेपाली नागरिकता लिएको अभिलेखमा देखिन्छ । उनले चन्द्रनिगाहपुर स्थायी ठेगाना राखी लिएको नागरिकता प्रमाण पत्र नम्बर १७२९ रहेको छ । सो नागरिकता प्रयोग गरी उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दोस्रो प्रतिलिपीसमेत निकालेको देखिन्छ ।

४५ वर्षदेखि नेपालमा व्यापार व्यवसाय गर्दै आएको दावी गर्ने साहले कसरी बंशजबाट उक्त नागरिकता लिन सफल भए ? यसमा सीआईबीले छानविन गर्ने हो भने उनले झुटा विवरण पेश गरी नागरिकता लिएको खुल्नेछ । जुन प्रकरणमा छानविन गर्ने हो भने रौतहटदेखि काठमाडौं प्रशासन कार्यालयका सरकारी कर्मचारीहरु अनुसन्धानको दायरामा आउने देखिन्छ । यता, राजनीतिक संरक्षणमा भेप तस्करी गर्दै आएका सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेपाले यो पटक भने सेटिङ मिलाउन नसकेको व्यापारीहरु बताउँछन् ।

इलेक्ट्रोनिक सिगरेट, रासायनिक मल, स्याउलगायतका सामान चीनबाट ल्याउने र नेपाल हुँदै भारततर्फ तस्करी गर्दै आएका शेर्पा र साहलाई कुनै बेला बालुवाटाको ढोका बन्द भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले शेर्पालाई बालुवाटारमा प्रवेश नै बन्द गरेको समाचार पनि आएका थिए । शेर्पालाई पूर्वमन्त्री तथा सन्धुपाल्चोकका कांग्रेस नेता मोहनबहादुर बस्नेतको संरक्षण रहेको बताइन्छ ।

Facebook Comments

सम्बन्धित समाचार