काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत गएका छन्।
कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध लामिछाने आज उच्च अदालत पोखरामा पुनरावेदन गर्न लागेका हुन् ।
उनी हिजो राति नै रुपन्देहीबाट पोखरा गएका थिए । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
जिल्लाको आदेशमा चित्त नबुझेपछि फौजदारी कार्यविधि संहिताको ७३ नम्बर बमोजिम रवि उच्च अदालत गएका हुन् ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका रविलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजन पत्र दर्ता गराइएकोमा पुस २५ गते ६५ लाख धरौटीमा छुटेका थिए ।
धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको थियो ।